हामी पनि वृद्ध हुन्छौ भन्ने सोचेर सरकारमा हुनेले वृद्ध आश्रम बनाउन सहयोग गर्नुपर्छ, प्रेम प्रसाद उप्रेती प्रशासकीय अधिकृत ,निःसहाय सेवा सदन

यहाँ निःसहाय सेवा सदन जेष्ठ नागरीक आवास गृहको प्रशासकिय अधिकृत हुनु हुन्छ अहिले निःसहाय सेवा सदन कसरी चलि रहेको छ ?

निःसहाय सेवा सदन एउटा संवेदनशील समयमा सुरु भएको संस्था हो । त्यस बेला नेपालमा जेष्ठ नागरिक सम्वन्धी काम गर्ने एउटा मात्र संस्था पशुपति वृद्धा आश्रम थियो । पशुपति वृद्ध आश्रम २०३४ सालमा स्थापना भएको थियो । पछि त्यो आश्रमले मात्र धान्न नसक्ने अवस्था भयो । बाआमालाई जताततै यत्तिकै छाड्न थाले । कतिपयले देवघाटको खोला किनारमा लगेर त्यसै छाडेको देखे पछि सगुन शाहले यो संस्था सुरु गर्नु भएको हो । उहाँको श्रीमान् जो रेडियो नेपालको महानिर्देशक हुनु हुन्थ्यो । उहाँले पनि समाचार सुन्दा कयौ वृद्धाहरु पशुपतिको छेउमा ,कतिपय खोला किनारमा र कतिपय बाटोमै छाडिएका समाचार सुन्नु भएछ कतिपय भुईमा, चिसोमा बसेको भेट्नु भए छ । त्यस पछि उहाँको समेत सहयोगमा सुगन शाह यो संस्था सुरु गर्नु भएको हो । यो संस्था सुरु गर्नु अगाडि सगुन शाहले बालबालिका र महिलाको क्षेत्रमा काम गर्दै आउनु भएको थियोा । पछि उहाँलाई वृद्धवृद्धाको क्षेत्रमा पनि काम गर्नु पर्दछ भन्ने लागेर यो संस्था सुरु गर्नु भयो । त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनु हुन्थ्यो । उहाँबाट नै शिलान्यास गरेर यो संस्थाको सुरुवात गरिएको हो ।
त्यो भए यो सेवा सदन स्थापनाको श्रेय स्वर्गीय सगुन शाहलाई जान्छ ?
हो सेवा सदन स्थापनाको श्रेय स्वर्गीय सगुन शाहलाई नै जान्छ । उहाँले समाज सेवाको क्षेत्रमा अत्यन्त धेरै काम गर्नु भएको छ । उहाँलाई त राज्यलेनै सम्मान गर्नु पर्ने व्यक्तित्व हुनु हुन्छ ।
यो सेवा सदनमा अहिले कति जना वृद्धवृद्धा र असाहय हुनु हुन्छ ?
हाम्रो क्षमता ४५ जनाको हो, ४५ जना नै हुनुहुन्थ्यो । तर यहि बर्ष लगातार ६ जना बित्नु भयो । अहिले चार जनाले बस्न पाउँ भनि निबेदन दिनु भएको छ त्यो प्रकृयामा छ । स्थापनाकालदेखि अहिलेसम्म ६५५ जना असाहय वृद्धवृद्धाहरुलाई सेवा दिई सकेका छौं ।
यो सेवा सदन संचालन गर्न आर्थिक पनि महत्वपूर्ण पाटो हो खान बस्न बिरामी हुँदा औषधी उपचार गर्न तथा आश्रममै बस्दाबस्दै मृत्यु भएमा धार्मिक विधि अनुरुप अन्त्यस्टी गर्न पनि रकम चाहिन्छ नी ?
यहाँ म आएको ३२ बर्ष भयो । म यहाँ प्रवेश गर्ने समयमा यो सेवा सदन सँग बाईस तेईस हजारको मात्र सम्पति थियो । सच्चा मनले सेवा गरेपछि सहयोग जुट्ने रहेछ नेपाली जनता धेरै मनकारी हुनु हुन्छ । उहाँहरुकै साथ सहयोगले यो संस्था चलेको छ । सहयोगी हात र सहयोगी मनहरुको साथले संस्था चलेको छ ।
सरकारी सहयोग छ कि छैन ?
सरकारले पनि सहयोग गरेको छ । भवन बनाउने बेलामा सरकारी सहयोग भयो । १५बीस वर्ष अगाडि १ लाख त्यस पछि २ लाख अनि ५ लाख हँुदै बार्षिक १० लाखसम्म पनि सहयोग गर्यो तर गत बर्ष स्रोत अभाव भयो भनेर सहयोग गरेको छैन । यो बर्ष के गर्दछ हेरांै । सरकारमा बस्नेहरु पनि भोलि वृद्ध होलान उनीहरुको त तलब भत्ता आउला नहुनेले के गर्ने सोच्नु पर्ने हो । हामी पनि वृद्ध हुन्छौ भन्ने सोचेर सरकारमा हुनेले सहयोग गर्नुपर्छ ।
अहिले बाध्यता वा अवसरको खोजीमा छोराछोरी विदेश गएको कारण बा आमा बुढेस कालमा एक्लै बस्नु पर्ने अवस्था छ । कतिपय अवस्थामा त बाआमा बित्दा समेत छोराछोरी विदेशबाट स्वदेश आउन सक्दैनन जसले गर्दा पैसा नहुने मात्र होईन पैसा हुने नै पनि असाहय हुने अवस्था तर सरकाको यस तर्फ ध्यान गएको पाईदैन यहाँले यस बिषयमा के भन्नु हुन्छ ?
यस सम्बन्धमा राज्यले नीति बनाउनु पर्दछ । विदेश तिर आम्दानीबाट सुरु देखि नै निश्चित रकम काटेर इन्सुरेन्स गरेको हुन्छ । पछि वृद्ध भएपछि त्यही रकम बाट औषधि उपचार हुन्छ । हाम्रोमा भने छोरा छोरीले नै बाआमा पाल्नु पर्ने अवस्था छ । विदेशतिर १८ वर्ष पुगेपछि छोराछोरी आफ्नो काममा जान्छन् । आफ्नो प्रगति गर्दछन् । हाम्रोमा त्यस्तो छैन । तर हाम्रोमा पनि संयुक्त परिवारबाट एकात्मक परिवार तर्फ समाज गई रहेको छ । पहिला पहिला तिम्रा सन्तानले डाँडा काँडा ढाकुन भन्थें बिचमा दुई सन्तान भनेर आयो । अहिले एक जना मात्र सन्तान जन्माउने चलन आएको छ । त्यही एक जना सन्तान पनि बाध्यता वश विदेशीनु परेको छ । जसले गर्दा वृद्ध अवस्थामा समस्या आईरहेको छ । वृद्ध हुँदा पनि श्रीमान श्रीमति दुवै हुँदासम्म त्यति समस्या पर्दैन तर एकल भयो भने विरामी हुँदा औषधि उपचार गर्ने पनि हुँदैन । त्यस्तै छोरी मात्र सन्तान छन् भने विवाह गरेर गएपछि घर तर्फको बाआमा हेर्ने कि माईततर्फको दुबै तर्फको हेर्नु पर्ने हुन्छ तर दुई तर्फका बाआमा सँगै बस्दा आफसमा मिलेनन् भने छोरीलाई पनि समस्या हुन्छ । कतिका सन्तान नै हुँदैनन् । उनीहरुको समस्या आफ्नै छ । छोराछोरी भएर काठमाडौंमै भएतापनि टाढा भयो भने समयमा नआउन सक्छन् । किनकि सबैका आ आफ्नै काम धन्दा हुन्छन् । मेरा पनि दुई जना छोरी छन् । छोरीहरुले आफ्नो व्यक्तित्व पनि विकास गर्नु पर्ने हुन्छ । आफ्नै काम हुन्छन् । सधैं बाआमा भनेर म कहाँ आइरहन नपाउन सक्छन् यस्तो अवस्थामा म आफै पनि जेष्ठ नागरीक आवास गृहमा बस्नु पर्ने हुन्छ । त्यस्तै कतिपयमा घर परिवारमा वेमेल भएर कोही एक जना घर बाट निस्कीनु पर्ने हुन्छ । यस्तो अवस्थामा बढी बाआमा नै निस्कीएको पाईन्छ । त्यस्तो अवस्थामा पनि बाआमा बाध्य भएर जेष्ठ नागरिक आवास गृहमा बस्नु पर्ने हुन्छ ।
अहिले केही वृद्ध आवास गृहहरुले अत्यन्त महङ्गो शुल्क लिएर वृद्धवृद्धाहरुलाई राख्ने गरेका छन् । तपाईहरुले निःशुल्क राख्नु हुन्छ कि रकम लिनु हुन्छ ?
हो केही आवास गृहहरुले मासिक ५० हजार भन्दा बढी रकम लिएर पनि राख्ने गरेका छन् । त्यो पैसा हुनेहरुकोलागि हो । तर हाम्रो जस्तो संस्था पैसा नहुनेहरुको लागि हो सुरु सुरुमा २ सय जना हुँदासम्म हामीले पैसा लिएका थिएनौं तर पछि कुरा आयो एउटा मान्छेले जिवनभरमा केही न केही त कमाएको हुन्छ । बीस तीस हजार होला वा लाख र करोड पनि हुन सक्छ । हामीले जेष्ठ नागरिकलाई यहाँ ल्याएपछि उहाँको भएको रकम उहाँका नातागोता कसैले लिई हाल्छन् । यहाँ हामीले सहयोग मागेर चलाउनु पर्ने उहाँहरुको सम्पति कसैले खाने त्यस्तो भएपछि जसले सक्नुहुन्छ उहाँहरुलाई सहयोग गर्न भन्ने जसले सक्नु हुन्न उहाँहरुलाई निःशुल्क सेवा दिई रहेका छौं । त्यसैले पैसा छैन भने निःशुल्क राख्छौं पैसा भएका छन् भने दान गर्नुस भन्छौं । दान गरेरै यहाँ आउनेहरु पनि भाग्यमानी हुनु हुन्छ । किन कि यहाँ थोरै रकममा अत्यन्त धेरै सेवा सुविधा छन् ।
यहाँ के कस्ता सुविधा दिनु भएको छ ?
यहाँ अत्यन्त राम्रो सुविधा छ । खानपानकोलागि दाताहरुको सहयोग छ । त्यसैले खानपान अत्यन्त राम्रो छ । त्यतिको खाना सायद तपाई हामीले घरमा खार्दैनौं । जुन कुरा यहाँ आफैले पनि हेर्न सक्नु हुन्छ । त्यसैगरी वृद्धवृद्धाहरुकोलागि स्वास्थ्य उपचारमा पनि प्रयाप्त ध्यान दिएका छौं । यही भित्र हाइकियर सेन्टर पनि चलाउन खोरिरहेका छौं । यसमा सरकारहरुको पनि सहयोग मागेका छौं । अहिले पनि हाम्रोमा डाक्टर, नर्सहरु पनि हुनुहुन्छ । उहाँहरुले पनि आवश्यकता अनुरुप जाँच गरिरहनु भएको छ । एउटा मात्र फाइदा छैन फाइदाहरु धेरै वटा छन।् । जस्तो बालबालिकालाई यहाँ अवलोकन गराएर वृद्धवृद्धालाई कसरी स्याहार गर्नु पर्दछ भनेर सिकाउछौं । त्यसैगरी स्कुल कलेजका विधार्थीहरु यहाँ आएर वुवाआमालाई वा वृद्धवृद्धालाई कसरी स्याहार गर्नुपर्दो रहेछ भनेर सिकेर जान्छन् । त्यसैगरी नर्शिङ्ग क्षेत्रका विधार्थीहरु (जेड्याटीक होम) वृद्धआश्रमको बारेमा अध्ययन गर्नु हुन्छ । विदेशमा त धेरै जेष्ठ नागरीक छन् जाइकाले एउटा कार्यक्रममा राखेको थियो । त्यो कार्यक्रम जापानमा धेरै जेष्ठ नागरीक भएको जानकारी दिएका थिए । इजरायलमा पनि नेपालबाटै वृद्धवृद्धाको सेवाका निम्ति भनेर कामदार जाने गरेका छन् । हाम्रोमा प्राविधिक शिक्षा छैन । दिनु पर्ने दश कक्षा पास गरेपछि प्राविधिक शिक्षा हो । हामीले यहाँ व्यवहारीक शिक्षा दिई रहेका छौं । कतिपय त विदेश जाँदा यहाँ काम गरेको अनुभव देखाएर समेत जाने गरेका छन् ।
अब अलि फरक प्रसंगतर्फ लागौं तपाई आफै यो क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
मेरो बुवा म सानै छदा बित्नु भयो । मेरो घर परिवार सम्पन्न थिएन । म गरिब परिवारको मान्छे हुँ । बुवा हुँदा त परिवार सम्पन्न थियो तर वुवा बिते पनि अवस्था राम्रो भएन । यतिसम्म कि एसएलसी पास गरेपछि एक किसिमले लावारीस जस्तै भएर भौतारिए । मेरो हजुर आमाले २४ वर्षसम्म पानीमा एउटा खुटटो टेकेर तपस्या गर्नु भयो । त्यसैले ताप्लेजुङको हाङपाङमा हामीलाई ध्यानीबुढीका संतान पनि भन्ने गर्दर्थे । मेरो हजुर आमालाई गीता वेद पुराण सहित सम्पूर्ण शास्त्रको ज्ञान थियो । मेरो बुवा पनि हजुर आमाको सेवा गर्दा गर्दै ६० वर्षको उमेरमा बित्नु भयो । मेरो आमा तर्फबाट हामी पाँच भाई थियौं र जेठी आमाबाट दुई भाई दाजुहरु हुनुहुन्थ्यो । बुवा बितेपछि भएको सम्पति पनि कसैले खाईदिने वा चलाई दिने अवस्था भयो । जसले गर्दा हामी नाजुक अवस्थामा पुग्यौ । त्यो समयमा बुवा भनेको हाम्रो छत्रछाँया हुनुहुँदो रहेछ बुवा बितेपछि दुःख भयो । एसएलसी पास गरेपछि रोजगारी खोज्ने सिलसिलामा म काठमाडौं प्रवेश गरे । एसएलसी पास गर्नै त्यो बेला गाह्रो ४२ सालमा एसएससी दिए तर पास भईन । अंग्रेजी लाग्यो । लाग्नु पनि स्वाभाविक हो । आठ कक्षामा गएर र त बफेलोको माने जानेको हो । अंग्रेजीको जाँच दिने दिन डरले होला ज्वरो नैआयो । त्यसपछि जीवनबाट विरक्त भयो अब पास हुन्न होला भनेर किताब जति सबै जलाए । भौतारिदै ४४ सालमा काठमाडौंमा आए । त्यसपछि काठमाडौंको टुडिखेलमा जुत्ता बेच्ने काम गरे । पछि मेची आमा दिल कुमारी श्रेष्ठसँग जोडिन पुगे । उहाँ पनि पूर्व झापाकी हुनोहुँदो रहेछ । उहाँकामा काम गर्न थाले । उहाँ खरो स्वभावको मान्छे ४९ जना पछि मेरो नाम थियो । त्यहाँ सात वर्ष महिलाहरुको सेवा गरे । त्यही संस्थामा काम गर्दा सगुन शाहसँग चिनजान भयो र उहाँले सेवा सदन खोल्ने भएपछि मेरोमा काम गर भनेर यहाँ ल्याउनु भयो । यो बिचमा मैले बालबालिकाको क्षेत्रमा पनि काम गरे । यसरी बालबालिका, महिला र वृद्धवृद्धाहरुको सेवामा अहिलेसम्म दिनहरु बितेका छन् ।
तपाई त ओम शान्तिमा पनि हुनु हुन्छ यसमा कसरी लाग्नु भयो ?
पहिला त म नास्तीक थिए । मलाई मूर्ति पुजेर मात्र के हुन्छ र जीवनमा परिवर्तन आउनु पर्छ भन्ने लाग्दथ्यो । भगवान् छ भने कस्तो छ भनेर प्रश्न गर्दथे । एउटा ढुंगालाई मान्छेले कुदेर मूर्ति बनाउने पछि त्यही मूर्ति सँग भगवान् मलाई यस्तो गर भनेर प्रार्थना गर्ने कत्ति बुद्धिमानि काम भनेर प्रश्न जाग्दथ्यो । यद्यपि यो भावनाको कुरो हो । भावनाले माने पछि हुने होला । तर पछि म ओम शान्तिमा दाजु मार्फत जोड्न पुगे । त्यस बेला नेपालामा भर्खर भर्खर ब्रहमाकुमारी सुरु भएको रहेछ । यसले धर्म भनेको मानव सेवा भन्दो रहेछ । जुन कुराबाट म प्रभावित भए र ओम शान्तिमा लागे । अनि धर्म भगवान् भनेको मान्छेको जीवनलाई चलाउने आध्यात्मीक शक्ति रहेछ भनेर बुझे । जस्तो हामीले घरमा एउटा ठूलो टिभी किनेर भित्तामा राख्यौं भने त्यसलाई चलाउन रिमोट चाहिन्छ । त्यस्तै मानव जीवनको च्यालन चलाउन भगवत शिक्षा चाहिदो रहेछ । त्यही भगवत शिक्षा असल रुपले बुझेर आफ्नो जीवनमा लागु गर्नु नै धर्म रहेछ । भगवान्ले खोजेको दुनियाँ परिवर्तन गर्न पहिला तिमी आफै नै परिवर्तन हुनु पर्छ भन्ने रहेछ । यही बुझे पछि ओम शान्तिमा लागे ।
भावि दिनमा सेवा सदन र आध्यात्मीक यात्रा कसरी संगसंगै बढाउनु हुन्छ ?
सुरुमा यही सेवा सदनमा आमाहरु ल्याउँदा आफसमा झगडा गरेर कपाल तानातान गर्नु हुनुहुन्थ्यो । कतिपयले रक्सी खानु हुन्थ्यो । कतिपय तनावले बौलाउने अवस्थामा पनि हुनु हुन्थ्यो जब मैले ओम शान्ति मार्फत प्राप्त गरेको भगवत् ज्ञान उहाँहरुलाई दिन थाले तब हाम्रा आश्रममा झगडा हुन छाड्यो । रक्सी खानेले रक्सी खान छोड्नु भयो । म अब पनि आफूले ज्ञान प्राप्त गर्ने र बाड्ने काममा लागि रहन्छु । जहाँसम्म सेवा सदनको कुरो छ म त वृद्ध आश्रमहरु बढाउनु पर्छ भन्ने पक्षमा छु । घर घरमा जानु भयो भने वृद्धाहरुमा कति पिडा छ । सम्पति त होला तर शान्ति भने छैन । यदि वृद्धा आश्रमहरु बढे भने जेष्ठ नागरिकहरुले पनि मेरो साहारा भएनन् भनेर कहाँ बस्ने भन्ने चिन्ता भएन । त्यस्तै घरकाले पनि बाआमालाई हेर्दा प्रगति गर्न पाइन भन्ने हुँदैन । आफ्नो काम गर्दछन् प्रगति गर्दछन् । धनिहरुकोलागि त केयर सेन्टरहरु छन् । गरिबहरुले पनि सेवा पाउने गरी वृद्ध आवस गृहहरु बढाउनु पर्दछ । यो सेवा सदनलाई वृद्धाहरुको जीवनको अन्तीम क्षणसम्म पनि शिलतापूर्वक विदाई हुने आवास गृहको रुपमा चलाउने मेरो चाहना छ । यद्यपी उमेर हदका कारण तीन वर्ष पछि यहाँको जागीर बाट म बाहिरिन्छु तर पछि कार्यसमितिमा आउन पनि सकिन्छ । यहाँ आए पनि नआएपनि म धेरै संघ संस्थामा आबद्ध छु हेटौंडामा आमा घर छ । अनुभवका आधारमा पनि धेरै तिर बोलाउनु हुन्छ । समाज सेवा मै लाग्ने मेरो लक्ष्य छ । यो छाड्दिन ।