यसपालिको नाग पन्चमी श्रावण २५ गते शुक्बार परेको छ । सोमबार, शुक्रबार नागको पूजालाई विशेष राम्रो मानिन्छ । शास्त्रीय मतमा धरणी भनौँ पृथ्वीलाई शेष नागले बोकेको मानिन्छ, विज्ञानले प्लेट भनेको छ । यसको उतारचढावले भूकम्प हुन्छ, जमिन हल्लन्छ । नागको पूजा भन्नु धर्तीकै पूजा हो । धर्ती पूजामा शँख, बत्ती, मन्त्र, मणि, माणिक्य, जनै, पूmल, फल, पुस्तक, तुलसी, कपुर, सुवर्ण, चन्दन, शालिग्रामको जल आबश्यक पर्छ, तर नागपूजामा शँख नबजाउनु राम्रो मानिन्छ । धरती स्वयं माता भएकीले विहान उठेर प्रथम पाद धर्तीमा राख्नु अघि पृथ्वीको नमन गर्नुपर्छ । समुन्द्रबसनेदेवी पर्वतस्तनमण्डिते, विष्णुपत्नि नमस्तुभ्यं पादश्पर्श क्षमस्व मे भन्दै भूमि प्रार्थना गर्नु पर्दछ । अघि शुरुमा सर्वप्रथम श्रीहरिले धर्तीको पूजा गर्नु भएको थियो । भक्तिपूर्वक धर्तीमाताको पूजा, उपासना गर्नाले श्रीसम्पति, आयु, प्रज्ञा, यश, आरोग्य मिल्छ । हिजोआज सबैतिर संकट देखिएको धर्तीप्रति बेवास्ता र अचाक्ली दोहनले हो । मानिस आपैmँले अनेकौ जलवायुको संकट खेपिरहेको छ । सहनशील गुण भएकाले दत्तात्रयले मानेका २४ गुरुमा एक पृथ्वी भएकी हुन्, विशालतामा आकाश अर्को गुरु हो । पन्चतत्व माटो, पानी, वायु, तेज र आकाशकै सूक्षम रुप हो हाम्रो शरिर । यसले विश्राम लिँदा यसमा भएको पन्चतत्व आप्mनै मातृसंस्थामा फर्कने हो ।
कलियुगका मानिसहरु आप्mनो नयाँ घर निर्माणमा, गृह प्रवेश गर्दा, नयाँ अन्न बालि लगाउँदा नाग, पृथ्वीको पूजा गर्ने गर्छन् । पृथ्वी पूजन बारे श्रीहरि नारदलाई भन्नुहुन्छ । पहिले ब्रह्माको स्तुतिले प्रसन्न भई श्रीबराहले हिरण्याक्षको वध गरी रसातलबाट पृथ्वीको उद्धार गरे र पानीमा कमलको पातभैmँ पृथ्वीलाई राखेपछि त्यही पृथ्वीमा ब्रह्माले सृष्टि गरेको प्रसंग पुराणहरुमा पाइन्छ । विज्ञानले चुम्बकीय आकर्षणका कारण ब्रह्माण्डका ग्रह उप ग्रहहरु अडेका हुन् भनेको छ भने पूर्वीय धर्मग्रन्थहरुले यस्तो ब्रह्माण्ड धेरै वटा भएको बताएको छ । यही संसार पनि अहिलेसम्म २८ पटक परिभ्रमण गरिसकेको र यो युग कलिको समय भनेको ४ लाख ३२ हजार वर्षको हो, यसमा अहिले यो वर्ष जम्मा ५ हजार १२५ वर्ष मात्रै व्यतीत भएको छ । कल्मष र कलह बढी हुने हुँदा अहिलेको युग कलि हो, यसअघिको द्दापर, त्यसअघिको त्रेता र त्योभन्दा पहिलेको युग सत्य हो । सत्ययुगमा यहाँको नाम सत्यपुर, त्रेतामा तपोवन, द्दापरमा मुक्तिपुर र हाल कलिमा नेपाल रहेको छ । ने मुनिद्दारा स्थापित र धर्म अनि न्यायले चल्ने भएकाले न्यायेन पाल्यते भन्ने सूक्ति अनुसार नेपाल भएको हो । विहान उठेदेखि सुतेसम्म र रातको निद्रामा पनि देवत्व प्राप्ति यहाँको विशेषता हो, त्यसैले भनिन्छ यहाँ घर जति छन् त्यति नै मन्दिर छन् र त विश्वको एकमात्र पवित्र देश हेर्नैका लागि पर्यटकहरु ओइरिएर आएका हुन् ।
पूर्वीयदर्शन धेरै फराकिलो छ । विज्ञानको स्रोत मानवदेखि सूक्ष्मभन्दा सूक्ष्म जीवात्माहरुकोसमेत पूजा गर्दै आफ्नो धर्म, संस्कृति र कलाको मौलिक संरक्षण गर्नु पूर्वीय चिन्तनको व्यापकता हो । यसले न केवल परम्परा धान्ने किन्तु जीवनपर्यन्त र त्यसपछिका दिनसम्म उज्यालो र सार्थक बनाउने प्रयास समेत गरेको छ । श्रावणको आरम्भदेखि नै सुरु हुने चाड पर्वमध्ये अहिले हामी नागपञ्चमी विशेषमा आइपुगेका छौंँ । श्रावण शुक्ल पञ्चमीको दिन घर, घरवरिपरिको परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपञ्चमी हो । नागपन्चमीका दिन नागको विशेष चित्र लेखेर दही, दूबो, दूध, लाबा समेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने गरिन्छ । हरेक देवदेवीहरुको मूर्ति, चित्रहरुबाट जीवनका लागि आवश्यक नव ऊर्जा प्राप्त हुन्छ । देव, देवी, मठ, मन्दिर, प्रवेश, पूजा, दर्शन चिन्तन मनन गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो, ऊर्जा नै हो । सकारात्मक सोच हुनु नै रोगका विकार हट्नु हो । हरेक मूर्ति, चित्र आदिबाट सकारात्मक र नकारात्मक दुवै ऊर्जा प्रवाह भैरहन्छ । सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ, मन्दिर, मूर्ति चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ । पूर्वीय दर्शनले यस बारेमा उद्बोधन गर्दै नागको शिर भाद्र, आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसीर, पुस, माघमा नागको शिर दक्षिणतिर हुन्छ । त्यस्तै फागुन, चैत्र, वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने जेष्ठ, आषाढ, श्रावणमा नागको शिर उत्तर दिशातर्फ हुन्छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ । उच्च र घरानीया भनिएकाहरुलाई घरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका देखिन्छन् भने धार्मिक र असहायहरुलाई घरको सुरक्षा दिने काम तुलसीले, यसको मोठले, तिलले, कुशले, गाईले, नागले, देवताले, पितृहरुले सुरक्षा दिइरहेका हुन्छन्, शारीरिक सुरक्षाभन्दा भावनात्मक सुरक्षा बलियो हुन्छ । र त घरका मूल ढोका, भित्ताहरुमा कलश, गणेश, सूर्य, हनुमान, कुमार आदिका मूर्ति, चित्र एवं स्वस्तिक, ॐ आदिको संकेत घरैपिच्छे पाइन्छ ।
समग्र भूमण्डललाई शेषनागले धारण गरेको कथन पनि पूर्वीय चिन्तनमा स्पष्ट उल्लेख छ । पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ । आफना वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्नि भय, प्रकोप, चट्याङ्ग, विद्युतीय विस्फोटक आदिको समस्या हँुदैन । सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरुको राजा भनिन्छ । जहाँ नागहरु हुन्नन् त्यहाँ पानी हुँदैन । पानी बिना कुनै जीवात्मा बाँच्तैन । घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ किनकि नाग खुसी भए लक्ष्मी (धन) को वर्षा हुन्छ । सुख, समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नु पर्ने हुन्छ । कृषिप्रधान मुलुक हाम्रा गाउँ बस्तीहरुमा धान रोपाञीँ गर्दा पनि नागको पूजा गर्ने चलन अद्यावधि छँदैछ ।
हिन्दु परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ । पाञ्चायन देवता मध्ये शिवको गलामा नाग, विष्णुको शैयामा नाग, गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेष नागका प्रतीक नै हुन् । भगवान् श्रीकृष्णले बाल्य कालमा कालीय नागको दमन गरेकाले जीवनको उषाकाल वा किशोर अवस्थामै विष तुल्य प्रदूषणलाई हटाइ सक्नुपर्ने संकेत प्राप्त हुन्छ भने सत्ययुगको समुद्र मथनको प्रसंगले शेषनागको घाँटीमा रहेको हलाहल विष ओकेली सकेपछि मात्र अमृत प्राप्त भएको कथानक भेटिन्छ । यसको लाक्षणिक संकेत के हो भने द्वन्द र युद्धपछि निश्चय नै शान्त वातावरण हुनु पर्छ भन्ने पनि हो । आजको युगमा ठूला विश्व युद्धपछि शान्तिको संकेत राष्ट्र संघको जन्म यसको थप उदाहरण हो । शेषसायी विष्णु सर्पमाथि सुतेर पनि शान्त र आनन्दित छन् अर्थात् समाजमा राग, द्वेष हुन्छ तथापि मानिसले विषम परिस्थितिमा पनि शान्त र आनन्दित हुनुपर्छ भन्ने संकेत हो । बुद्धको मुकुटमा सर्पका आकृति चिह्न देखिनुको संकेत पनि वरिपरि परिवेश अशान्त र विषालु भए पनि आफू सौम्य र शान्त बन्नुपर्छ भन्ने हो ।
नागका विभिन्न विशेष नामहरु छन् –अनन्त, बासुकी, शेष, पट्टनाभ, कम्बल, धृतराष्ट्र, शङ्खपाल, तक्षक, कालीय आदि ! प्रत्येक दिन मानवले यी नागका नाम स्मरण गर्यो भने जीवनमा कहिल्यै सर्पको भय हुँदैन । सर्पहरु विषालु पनि हुन्छन् । तपस्वी ऋषिका श्रापले द्वापरयुगमा तक्षक नागले डसेर चक्रवर्ती सम्राट परिच्छितलाई देहान्त गरायो । हिजोआज हाम्रो मुलुकमा पनि प्राय तराईक्षेत्रमा सर्पदंश हुने गरेको देखिन्छ । कतिपय व्यक्तिले ज्यान पनि गुमाएका छन् । यसतर्फ भने हामी सतर्क रहनुपर्छ । नाग खुसी हुँदा संरक्षण दिन्छन् । रिसाउँदा घरै पल्टाउन पनि सक्छन् त्यसैले हरेक घरको जग हाल्दा घर सर्दा नागको विशेष स्थान छुट्टयाई पूजा गर्ने चलन रहेको छ । नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाउने, गाईको दूध, कपासको प्यूरी, तिल, लावा, चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् ।


















