केही समय यता देशमा फाट्टफुट्ट प्रस्तुत भईरहेका घटना क्रमले नेपाल पनि ठूलै परिवर्तनको संघारमा पुगेको छ भन्ने देखाईरहेको छ । कुनै संगठित वा परिचित समूह प्रकट नभईकन सडकमा हुने र भईरहेका आक्रामक प्रदर्शनले परिवर्तनको रिहर्सल देखाईरहेको हो कि भन्ने आशंका गर्न थालिएको छ । सामान्यजनले नबुझे पनि सत्ताधारीहरुले भने यस्ता घटनाक्रमलाई नजिकबाट नियाली रहेका छन् भन्ने देखिन्छ । विशेषगरी प्रधानमन्त्री केपी ओली यस्ता घटना क्रमबाट अलि बढी नै आत्तिएका छन् भन्ने उनका अभिब्यक्तिहरुबाट स्पष्ट हुन्छ ।
२००७ सालपछिका घटना क्रमहरुलाई हेर्दा नेपालमा निश्चित समयपछि एउटा उथलपुथल हुने गरेको छ । पञ्चायतका ३० वर्षमै पनि ब्यवस्थाभित्रै रहेर पनि उथलपुथलहरु भएका थिए । तर पछिल्लो समय राजनीतिक घटना क्रम स्थिर अवस्थामा छ । भलै २०६२/०६३ कै सम्झौताका बाइप्रडक्टको रुपमा केही घटना क्रम पछि गराइए । तर ठोस रुपमा संस्थापन विरुद्ध विद्रोह नभएको करीब २० वर्ष पुग्न लाग्यो भन्दा फरक पर्दैन । राजनीतिक नेतृत्वले अहिलेसम्म जनतालाई भुलभुलैयामा राख्न सफल भएका कारण २० वर्ष “स्थिर” रहेको हो । अब भने त्यो भुलभुलैया तोडिंदै छ भन्ने देखिंदै छ ।
गत सोमबार काठमाडौंको टुँडिखेलमा सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा मनाउने क्रममा प्रमुख अतिथि बनेका प्रधानमन्त्री खड्कप्रसाद ओली र सुदुरपश्चिमलाई आफ्नो आधुनिक विर्ता ठान्ने शेरबहादुर देउवाको जसरी विरोध र हुटिङ भयो त्यसले सर्वसाधारण र खाशगरी युवा जमात यो सडेगलेको नेतृत्वबाट दिक्क भएका छन् भन्ने प्रष्ट पारेको छ । त्यत्रो सुरक्षा ब्यवस्थाका बीच “फलानो चोर देश छोड, ओली तेरो पाराले दुख पाए साराले, शेरे तेरो पाराले दुख पाए सारा” ले भन्ने नारा लाग्नु र सुरक्षाकर्मीले समेत त्यसलाई रोक्न नसक्नु विद्रोहको एउटा झिल्को हो भन्ने बुझ्नु मनासिव हुन्छ ।
तर गणतन्त्रको सरकार कति असहिष्णु र अनुदार छ भने नारा लगाएकै आरोपमा युवाहरुलाई खोजी खोजी पक्राउ गरेर तर्साउन खोजिएको छ । हुन त त्यही दिन नै शेरबहादुर देउवाले “यी बदमासहरुलाई कारबाही गर्नुपर्छ ” भनेर आफ्नो असहिष्णु चरित्र प्रदर्शन गरिसकेका थिए । त्यसको भोलिपल्टै गृहमन्त्रालयको आदेशमा प्रहरीले युवाहरुलाई पक्राउ गर्न अभियान नै चलायो र केही पक्राउ परे । यसले सर्वसाधारणलाई झ्न बढी आक्रोशित बनाएको छ ।
गौरा पर्वमा ओली र देउवा विरुद्ध हुटिङ हुनु केही दिन अघि युवाहरुको एउटा ठूलै समूह बालुवाटार छिर्ने भन्दै तात्तिएर बालुवाटार अगाडि पुगेको थियो भने त्यसको केही दिन अघि बानेश्वरमै युवाहरुको ठूलै समूहले भ्रष्टाचार मुद्धामा हदम्याद राख्ने संसदीय प्रयास विरुद्ध सशक्त प्रदर्शन गरेका थिए । यस्ता घटना क्रमहरु कुनै संगठीत समूहले गरेको होइन र छैन । सामाजिक संजालबाट जोडिने युवाहरुले छिन भरमै शक्ति प्रदर्शन गर्ने गरेका हुन् ।
अर्कोतर्फ यस पटकको गाईजात्राका क्रममा उपत्यका टोल टोलमा राजनीतिक प्रहसन देखियो । सडककमा निकालिएका गाईजात्रे प्रहसनमा ओली, देउवा, प्रचण्डलगायतका नेताहरु विरुद्ध ब्यंग्य मात्रै गरिएको थिएन कि उनीहरुलाई कतै गधा बनाइएको थियो त कतै गोरु बनाइएको थियो । तिनीहरुलाई जोत्ने वा खेद्ने चाहीँ श्रीपेच लगाएको ब्यक्ति (राजा) वा काठमाडौंका मेयर बालेन शाहका प्रतिरुप थिए । यसले काठमाडौंका नेवार बस्तीहरुमा पनि राजनीतिक नेतृत्व विरुद्ध विस्तारै जनमत बन्दैछ भन्ने देखाएको छ । अर्थात जनतामा अहिलेको ब्यवस्था र नेताहरुबाट देश बन्दैन भन्ने अनुभूति बढ्दै गएको हो भन्दा फरक पर्दैन ।
जनतामा चरम असन्तुष्टि छ र त्यो भड्किने संघारमा छ भन्ने कुरा नेताहरुले नबुझेका होइनन् । प्रधानमन्त्री ओलीले पटक पटक जनतालाई भड्काउने खेल भईरहेको छ भनेर बोल्दै आएका छन् । गत सोमबार पनि टुँडिखेलमा बोल्ने क्रममा ओलीले “यस्तो अराजकता” ठाउँ ठाउँ देखिने गरेको भन्दै नेपालीलाई भड्काउन संभव छैन भनेका थिए । अराजकता बढ्दै छ भनेर स्वीकार्नु नै उनीहरु तर्सिएका छन् भन्ने प्रमाण हो । नेपालीलाई भड्काउन सजिलो छैन भनेर उनीहरुले मुतको न्यानो खोज्ने कोशिस गरेका मात्रै हुन ।
अर्को पक्ष के हो भने कांग्रेस–एमालेका नेता तथा कार्यकर्ता र केही हदसम्म सर्वसाधारणमा पनि यी दुई ठूला दल मिले भने देशले गति लिन्छ भन्ने भ्रमपूर्ण आसा थियो । र यस पटक त्यो भ्रमको पर्दा च्यात्नेगरी ठूला दलहरुकै गठबन्धन बन्यो । तर सरकार बनेको डेढ महिनामा कुनै पनि तात्विक फरक पर्ने गरी कुनै पनि काम शुरु हुन सकेको छैन । यसले अर्को निराशा बढाउने पक्का छ ।
जनस्तरबाट विरोध र विद्रोह बढ्दै जाँदा ओली जस्ता शासक समाधान भन्दा दमनतर्फ अग्रसर हुने पनि पक्का छ । किनभने ओलीमा अहिले पनि ठूलो दम्भ छ कि आफू जस्तो लोकप्रिय नेता अर्को छैन र एमाले जस्तो शक्तिशाली पार्टीलाई क्रस गर्न सजिलो छैन । तर राजनीतिक दलको शक्ति त्यो दिनसम्म कायम रहन्छ जुन दिनसम्म जनताले विद्रोहको विगुल फुक्दैनन् । जनता जागेको दिन चुनावबाट पाएको बहुमत र शक्तिशाली पार्टी कसरी धरासायी हुन्छ र नेतृत्व लखेटिनु पर्छ भन्ने बंगलादेशको गत महिनाको घटनाले नै पुष्टि गरेको छ ।



















