भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु

खजुरा बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ ।

अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको हो । अस्पतालमा देनिक सयौँको संख्या बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न अस्पतालले अनलाइन टिकट सेवाको सुरुआत गरेको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।

“अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी बिरामी सेवा लिन आउने गर्नुहुन्छ, उनहरूले टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ”, उनले भने , “घण्टौँसम्म लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्न अनलाइन टिकेट सेवा सुरु गरेका छौँ, ।

मेसु थापाका अनुसार सेवाग्राहीले परीक्षण गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित चिकित्सक र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्कबापत रु ३० अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चाहेको समयमा टिकट बुक गर्न पाउनेछन् ।

सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । उनका अनुसार अस्पतालको सेवालाई थप गुणस्तरीय र समयसापेक्ष बनाउन थप सुविधा विस्तार गर्दै लगिएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला राखिएको अस्पतालले जनाएको छ ।