सामाजिक सञ्जाल फेसबुुकको प्रयोगमा समकालीन राजनीतिज्ञमध्ये निकै अभ्यस्त मानिने प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला फेसबुकमा लेखेको स्टाटसका कारण ‘ट्रोल’ बनेका छन् । उनले गएराति १० बजेतिर एउटा स्टाटस लेखेका थिए । जहाँ भनिएको थियो, ‘बाढीले बगाएर अबरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवातजावत सञ्चालन गरिएको छ भने बीपी राजमार्गको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।’
जबकि, पाँचथरको हेवाखोलामा बेलिब्रिज नै जडान गरिएको छैन । बल्ल त्यहाँ ह्युम पाइप राखिँदैछ । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेका अनुसार आइतबार १६ वटा ह्युुम पाइप हेवाखोलामा राखिएको हो । अपुुग भएर १२ वटा ह्युम पाइप मगाइएको छ । मङ्गलबारसम्म ह्युुम पाइप राखेर डाइभर्सन बनाइसक्नेगरी काम भइरहेको मेयर काफ्लेले बताए । उनले भने, ‘उहाँ (प्रधानमन्त्री)ले भन्नुुभएको हावा कुरा हो । खोलामा पानीको प्रवाह अधिक छ । भोलिसम्म चाहिँ डाइभर्सन खोलिसकिन्छ होला । कहाँ बेलिब्रिज राख्नु ।’
प्रधानमन्त्री ओलीको स्टाटसले दसैँमा घर जान चाहेका काठमाडौं उपत्यकासहित झापा, मोरङलगायत जिल्लामा रहेका ताप्लेजुङ र पाँचथरको उत्तर–पूर्वी क्षेत्रका नागरिकहरू उत्साहित भएका थिए । तर, उनको स्टाटस त्यसबेला तथ्यहीन ठहरियो, जतिबेला पाँचथरका धेरै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले हेवाखोलामा बल्लतल्ल ह्युम पाइप राख्दै गरेको भिडियोदेखि फोटो कमेन्टबक्समा राखेर ओलीको आलोचना गरे । गलत तथ्य राखेर जनतालाई भ्रममा पारेको भन्दै उनी निशानामा परे ।
यसपछि स्टाटस लेखेको १२ मिनेटमै स्टाटसको पहिलो सम्पादन भयो । तर, बेलिब्रिजको सट्टा पुल शब्द राखेर सम्पादन भयो । गलत तथ्य हटाइएन । त्यहाँ थियो, ‘बाढीले बगाएर अबरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल (पहिले बेलिब्रिज थियो) मर्मत गरी आवातजावत सञ्चालन गरिएको छ भने बीपी राजमार्गको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।’
फेसबुकमा ६ लाख १० हजारले फलो गरेका ओलीको तथ्यहीन स्टाटसलाई नै सत्य मानेर कतिले घर जान पाइने भयो भनेर लेखे । कतिले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । तर, प्रधानमन्त्री ओलीले गलत विवरण राखेको भन्दै झनै आलोचना बढ्यो । कतिले त सरकार प्रमुखबाटै यसरी भ्रम फैलाउनु अपराध नै भन्न भ्याए ।
भ्यू इडिट हिस्ट्रीमा गएर हेर्दा यसपछि ३४ औँ मिनेटमा तेस्रोपटक स्टाटस सम्पादन भयो । तर, तथ्य गलत नै राखे । ‘बाढीले बगाएर अबरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल र बीपी राजमार्गको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।’ पटकपटक स्टाटस सम्पादन गरेर पनि निरन्तर गलत तथ्य राखेपछि प्रधानमन्त्री ओलीप्रति आक्रोशित हुँदै केहीले ‘लाजको पसारो’ लेखे । प्रधानमन्त्रीको सचिवालयमा रहेकाले कस्तो सूचना प्रधानमन्त्रीलाई दिए भन्दै प्रश्न गरे ।
यसपछि चौथोपटक ओलीको स्टाटस सम्पादन भयो । सम्पादित स्टाटस यस्तो छ,‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा फड्के बिछ्याउने काम र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।’ फेरि, हेवाखोलाको पुलले पाँचथर र ताप्लेजुङ जोड्दैन । काबेली पुलले मात्रै पाँचथर–ताप्लेजुङ जिल्लालाई जोड्छ । हेवाखोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई जोड्ने पुल चाहिँ हो ।


















