राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुगेका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकबीच भएको भेटमा उनहरुबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उनहरुबीच विचार–विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरे ।
संयुक्त राष्ट्रसङ्घ, आइपियूलगायत बहुपक्षीय मञ्चमा दुई देशका साझा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्डसँग काम गर्न नेपाल सधैँ तयार रहेको बताए । प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै उनले भने, “सङ्घीय गणतन्त्रका रुपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौँ ।”
राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । “शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौँ,” अध्यक्ष दाहालले भन्नुने, “नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्विस सरकारको महत्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
सङ्घीय संसद्ले नेपाल–स्विट्जरल्यान्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताए । स्विट्जरल्यान्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै उनले भने, “स्विस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकामा स्विस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । स्विस विकास सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”
स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकले नेपाल र स्विट्जरल्यान्डबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपियूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्विजरल्यान्डमा भेट्दा आफूलाई खुसी लागेको बताउनुभएको संसद् सचिवालयले जनाएको छ ।
नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कानुन पारित गरेकामा बधाई दिँदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरु आवश्यक सहयोग गर्न तयार रहेको बताए । “शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकामा बधाई दिन चाहन्छु,” उनले भने, “कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौँ ।”
नेपालले नयाँ संविधानमार्फत सङ्घीय शासन प्रणाली अवलम्बन गरेकामा खुसी व्यक्त गर्दै उहाँले सङ्घीयताको कार्यान्वयनमा पनि स्विस सरकारको सहयोग हुने बताए । नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवद्र्धन र हवाई सेवाको गुणस्तर एवं विकासमा स्विस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

















