skip this वडा नं १६ बालाजु च:मती

नेपालका नेताहरूलाई आन्तरिक कलह नगर्न चीनको प्रतिनिधि मण्डलको सुझाव

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आज(आइतबार) चिनियाँ प्रतिनिधि मण्डलले नेपालका नेताहरुलाई आन्तरिक कलह नगर्न सुझावसहित अरु दुई विषयलाई उठान गर्दै त्यसलाई सुधार्न सुझाव दिएका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा रहेको चीनको प्रतिनिधिमण्डलले नेपालले व्यावसायिक वातावरण सुधार गर्न, चीनले नेपालमा सञ्चालन गर्दै आइरहेको परियोजनामा विदेशी शक्तिले गिजोल्ने प्रयासलाई रोक्न सुझाव दिएको हो ।

अन्तरक्रिया कार्यक्रममा चिनियाँ नेताहरूले नेपालबारे तीन विषय उठाउने क्रममा आज नेपालका सबैजसो राजनीतिक दलका नेताहरूसँग संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत राजनीतिक दलका नेताहरु सहभागी थिए ।

उनीहरुले नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेको विषय उठाएका छन् । उनीहरुले नेपालका नेताहरू आन्तरिक कलह र झैँ झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको चिनियाँ प्रतिनिधिमण्डलको भनाई थियो । चिनियाँ प्रतिनिधिमण्डलले अब मिलेर अघि बढ्न नेपालका नेताहरूलाई सुझावसमेत दिएका छन् ।

सो क्रममा विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताएकी छन् । उनले नेपाल आउनुअघि चीनका व्यवसायीसँगको छलफलका क्रममा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेको जानकारी पाएको बताइन् । चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न असक्षम रहेको उनको भनाई थियो ।

त्यसैगरी, नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको विकास परियोजनाको विषय उठाउँदै चिनियाँ प्रतिनिधिले नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको परियोजनामा विदेशी शक्तिले गिजोल्न चाहिरहेको तथ्यबारे बोलेका थिए । विदेशी शक्तिले नेपालको परियोजना गिजोलेर जाने र त्यसले नेपालको विकाससँगै चीनसँगको सम्बन्धमा समेत असर पर्ने उनीहरूको भनाई थियो ।

ती तीन विषयको जवाफ दिँदै नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न नेपाल तयार रहेको बताएका छन् । यसका लागि नेपालले नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने बताए । चिनियाँ परियोजना विदेशीले गिजोल्ने गरेको भन्ने विषयमा जवाफ दिँदै सकेसम्म यस्तो हुन नदिने नेपाली नेताको प्रतिबद्धता छ ।

उनीहरुले नेपालको विकासमा चीनको सहयोग महत्त्वपूर्ण भएकाले विदेशी शक्तिलाई चिनियाँ परियोजनामाथि खेल्न नदिने समेत बताएका छन् । साथै, नेपाली नेता आन्तरिक कलहमा रमाउने गरेकोबारे जवाफ फर्काउँदै यो नेपालको आन्तरिक विषय भएको समेत नेताहरूले बताएका छन् ।