मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरूको एक समूहले झापा र कञ्चनपुरदेखि काठमाडौँसम्म पदयात्रा गर्ने भएका छन् । मिटरब्याज पीडितहरूले हिजो(१६ माघ)देखि झापा र कञ्चनपुरबाट काठमाडौँतर्फ पैदलयात्रा सुरु गरेका हुन् ।
संघर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार झापा र कञ्चनपुरबाट सुरु भएको पदयात्रा चितवनमा भेट भई त्यहाँबाट काठमाडौँतर्फ लाग्ने छ । मिटरब्याज पीडितहरूले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् । गाउँघरमा साहु महाजनबाट ऋण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, ऋण लिएको भन्दा बढी रकम लिएको जस्ता समस्यालाई सबैको ध्यानार्कषण गराउन मिटरब्याज पीडितहरूले न्याय माग्दै काठमाडौँ आउन लागेका हुन् ।
मिटरब्याज समस्या समाधान गर्न भन्दै सरकारले २०७९ चैत २० गते गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत बनाएको थियो । जाँचबुझ आयोगले मधेशको जनकपुरधाममा कार्यालय राखी मिटरब्याज पीडितहरूबाट उजुरीसमेत लिएको थियो । उक्त समितिले काम सकेर प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ ।




















