skip this काठमाण्डौं महानगरपालिका ११

पक्राउ परेका चौधरी र थापाविरुद्ध छाला जुत्ता कारखानाको जग्गा कीर्ते मुद्दामा थप अनुसन्धान हुने

पक्राउ परेका व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितमान सिंह थापाविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान हुने भएको छ । महाराजगञ्जस्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुबै जनालाई आज(बिहिबार) बिहान पक्राउ गरेको हो ।

सीआईबीले पक्राउ गरेको दुबै जनामाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिने जनाएको छ । उनीहरूसँगको बयानपछि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । सीआईबीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बिहीबार नै अनुमति लिँदैछ ।

सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी छ । उक्त १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।