नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो ६ महिनामा कूल वस्तुको निर्यात ७४ अर्ब ९७ करोड रुपैयाँ छ भने आयात ७६८ अर्ब १७ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा कूल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड रुपैयाँ कायम भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकका अनुसार भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको छ । तर, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको बैंकले जनाएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कूल वस्तु आयात ३.१ प्रतिशतले कमी आई ७६८ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । यसले नेपालको वैदेशिक व्यापारमा ठुलो असन्तुलनको चित्र देखाएको छ । तर, आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कूल वस्तु व्यापार घाटा २.६ प्रतिशतले आएको बैंकले जनाएको छ । जसअनुसार व्यापार घाटा ६९३ अर्ब २० करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो ।
यस्तै, समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो । यसैगरी तुलतान्मक रुपमा मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमश:२.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस.तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ । यस्तै निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७६ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६० अर्ब ५६ करोड रुपैयाँ बराबर थियो ।





















