जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ । सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँका अनुसार वीरगञ्ज महानगरपालिकाले गत २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट २४ लाख ६३ हजार रुपैयाँ जरिवानाबापतको राजस्व सङ्कलन गरेको हो ।
सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरुको प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।
सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उनले बताए । विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरकारुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । बजेट अभावका कारण देखाउँदै सरसफाइका कर्मचारी हटाएपछि भने फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने चिन्ता बढेको सरसफाइ प्रमुख मियाँको कथन छ ।
प्रमुख मियाँले भने, ‘सरसफाइका कर्मचारीले दैनिक सडक र नाला सफा गर्दा सडक चिटिक्क बनेको छ । तर, केही दिनयता सरसफाइका कर्मचारी घट्दै गएका छन्, जसका कारण अपेक्षाकृतरुपमा सरसफाइको काम हुन सकेको छैन ।’ स्थायी प्रकृतिका सरसफाइ कर्मचारीले अवकाश पाएका र ज्यालादारीका रुपमा राखिएकालाई बजेट अभावका कारण हटाउनुपरेको उनको भनाइ छ ।






















