skip this वडा नं १६ बालाजु च:मती

प्रतिनिधिसभा बैठक स्थगित, विवादित मन्त्रीहरुले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि प्रतिनिधिसभाको आज सोमबारको बैठक स्थगित भएको छ । एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने माग राखेका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बसेको ठाउँबाट उठेर नाराबाजी गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थिए । तर एमाले सांसदहरूले अवरोध गरिरहेका थिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताए । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरूले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् । सो क्रममा एमाले सांसद गोकुल बाँस्कोटाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित भ्रष्टाचारमा मुछिएर अख्तियारमा बयान दिएका मन्त्रीहरूको राजीनामा किन नदिएको र प्रधानमन्त्रीले किन नहटाएको भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै, राप्रपाका सांसद राजेन्द्र लिङदेनले मिटरब्याज पीडितका समस्या समाधान नभए आगामी बैठक अवरोध गर्ने चेतावनी दिए । लिङदेन बोलिसकेपछि पुन विपक्षी सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि रास्वपाका सांसद रवि लामिछानेले मन्त्रीहरूका बारेमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई के कुराले रोकेको छ भनेर प्रश्न गरे । उनले मिटरब्याज पीडितहरू २३ दिन हिँडेर काठमाडौँ आउनुपरेको भन्दै उनीहरूलाई हिँड्न कसले बाध्य पार्‍यो ? भनेर प्रश्न गर्दै सामन्तवादको अवशेष अझै कायमै रहेको बताए ।