जेलभित्र ज्यानको धम्की दिएर बयान लिएको प्रदिप पौडेलको आरोप

 

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौ क्षेत्र नं. ६ द्वारा शनिबार आयोजित कार्यक्रममा उनले शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका घटनाहरू दोहोरिरहेका आरोप लगाउँदै महामन्त्री पौडेलले प्रधानमन्त्रीलाई सरकार सञ्चालन गरिरहेको हो कि गुण्डाराज भन्दै प्रश्न गरे ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं सरकार चलाइरहनुभएको छ कि गुण्डाराज गरिरहनुभएको छ ? सरकार यस्तो हुन्छ ?,’ प्रश्न गर्दै उनले भने, ‘तपाईंको अधीनस्थ, तपाईंको मातहतमा रहेको जेलभित्र कसैलाई ज्यानको धम्की दिएर बयान दिइँदो रहेछ ।’