काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशनको प्रचार प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरिएको छ । प्रचार–प्रसार समितिका संयोजक एवं समूहका प्रवक्ता डा.प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् ।
मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झन्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरे । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् ।
पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका हुन् ।
‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ। नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ महतले भने, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ। हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो।’
उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।
महतले पार्टीको सङ्गठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने बताए । नेपाली कांग्रेसको देउवा पक्षले आगामी मङ्सिर २१ देखि २४ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ ।
















