राष्ट्रिय वाणिज्य बैंकको संखुवासभामा नयाँ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं.३ पोखरीबजारमा २८७औँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार गरेका हुन् ।

शाखा कार्यालय पोखरीबजारको उद्घाटन पूर्व वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ्ग, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपुर नपा वडा नं.३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादर कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरुलगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा न्यायाधीश फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

हाल बैंकको सात प्रदेशका ७७ वटै जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।