शाही ग्रुप अफ इन्डष्टिजका संस्थापक अर्जुन बिक्रम शाही इलाम क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन । पढाइमा अब्बल र युवाहरुमा लोकप्रिय युवा व्यवसायी अर्जुन बिक्रम शाहीले इलाम क्षेत्र नम्बर १ सुवासचन्द्र नेम्वाङको क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
आफूले युवाहरुको आवाजलाई संसदमा जोडतोडका साथ उठाउने र युवाहरुलाई देशप्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउँदै देशमै बस्ने वातवरण सृजना गर्न सदन र सडकबाट जिम्मेवार निकायलाई ध्यानाकर्षण गराउने उनको भनाई छ । विज्ञान, कानुनमा स्नातक र कुटनीतिमा स्नातकोत्तर गरेका शाहीसँग नेपालमा भएका प्रभावशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरुको सल्लाहकार भएर काम गरेको अनुभव छ ।
शाही ग्रुप अफ इन्डस्टिजअन्तर्गत आइटी, कृषी, पर्यटन, मिडिया, ट्रेडिङ, कन्टक्सनमा उनको लगानी छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा गुणस्तर र प्रतिस्पर्धात्मक बनाउनलाई काम गरिरहेको र छिट्टै लन्च हुने उनका आर्थिक सल्लाहकार सन्तोष अर्यालले बताए ।
शाहीले आईटी अन्तरगत बार्षिक १० करोडको कारोबार गरेर ४० जनालाई रोजगार दिएका छन् । शाही ग्रुप अफ इन्डस्टीजले ग्रिन नेपाल अन्तरगत सफा र स्वच्छ वातावरण बनाउने भन्दै ई–सडकको परिकल्पना अन्तर्गत काम गरिरहेको छ । ६० प्रतिशत युवाहरु भएको देशमा युवाहरु अरुको भरमा नपरी हरेक क्षेत्रमा सबल बनी राष्ट्रलाई योगदान गर्नु पर्ने उनको भनाइ छ । आफूले चुनाव जिते सरकारको तलब भत्ता नलिने र शिक्षा, स्वास्थलाई नि:शुल्क बनाउन आफूले संसदमा आवाज उठाउने उनले बताएका छन् ।
त्यस्तै, युवाहरुको लागि स्पेसल प्याकेजसहितका कार्यकमहरु ल्याउन पहल गर्ने उनको भनाइ छ । आफूले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता, दक्षता राष्ट्र र जनताको लागि समर्पित गर्ने उनले बताएका छन् । जसमा उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमाबुबा सबैलाई साथ सहयोग गर्दिनहुन अपिलसमेत गरेका छन् । तीन महिनादेखि इलाममा डाटा सर्वे गर्ने क्रममा अधिकांश व्यक्तिहरु आफ्नो पक्षमा रहेको उनको भनाइ छ । युवाहरुलाई सबैले साथ दिने भन्दै इलामवासीले आफूलाई निर्वाचित गराएर पठाउने उनले विश्वास लिएका छन् ।






















