नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठुलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो ।
आज बुधबार विराटनगर पुगेका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उक्त धारणा राखेका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सत्ता टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै, अध्यक्ष ओलीले नेपाली कांग्रेस ठुलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दु:खद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए । अर्काे एक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।




















