skip this वडा नं १६ बालाजु च:मती

नक्साङ्कनको त्रुटिले खानेपानी आयोजना निर्माण रोकियो

नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब तीन करोड रुपैयाँको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो ।

नक्साङ्कनअनुसार सिमस्थित कालीगण्डकी किनारमा इनार खन्ने क्रममा ढुङ्गा भेटिएको र मागअनुसार पानीको स्रोत नभएपछि निर्माण कम्पनीले खानेपानी आयोजना निर्माणको काम रोकेको वडाध्यक्ष टेकबहादुर थापाले बताए । उनले भने, ‘यो आयोजनाको काम सुरुदेखि नै अपेक्षाकृत गतिमा हुनसकेको थिएन । पछिल्लो समय मुहानको डिजाइन असफल हुँदा निर्माण प्रभावित बनेको हो ।’ बगरको सतहबाट तीन मिटर गहिरो इनार खन्ने क्रममा ढुङ्गा भेटिएपछि वैकल्पिक ठाउँमा मुहान बनाएर आयोजनालाई पूर्णता दिन पहल गरेको वडाध्यक्ष थापाले बताए ।

कूल छ करोड ७६ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनाको मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गर्न प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार पाँच सय छ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार २०७९ असार २३ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने योजनाको हालसम्म ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । रत्नेचौरका बासिन्दा ईश्वर बरुवालले धारा निर्माण भएको डेढ वर्षसम्म पनि पानी वितरण नभएको गुनासो गरे । उनले भने, ‘श्रमदानबापत प्रतिघर तीन हजार रुपैयाँका दरले नगद पनि बुझाएका छौँ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुपरेको छ ।’

रत्नेचौरमा २०३५ सालमा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घरघरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीय ओमबहादुर रोकाले बताए ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले लामगरास्थित कालीगण्डकी किनारमा मुहान बनाउनका लागि डिजाइन परिवर्तनका लागि मन्त्रालयमा पेस गर्ने प्रस्ताव तयार पारेको बताए । उनले भने, ‘नयाँ ठाउँमा मुहान बनाउन भेरिएसन अर्डरको प्रस्ताव मन्त्रालयमा पेस गर्न पोखरा आएको छु । सचिवको नेतृत्वमा आयोजना अनुगमनका लागि आउँदै हुनुहुन्छ ।’ राससले जनाएनुसार हालसम्म एकवटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ ।

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड चार दशमलव सात लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गर्ने लक्ष्य रहेको छ । आयोजनाको वितरण लाइनको कुल दूरी १८ दशमलव सात किलोमिटर छ ।