श्रमिक ठगी प्रकरण: पूर्वमुख्यसचिव अर्यालको घरमा छापा, दुई ल्यापटप बरामद

मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पक्राउ परेका तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको घरबाट प्रहरीले दुईवटा ल्यापटप बरामद गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि ल्यापटप नियन्त्रणमा लिएको हो। प्रहरीले अर्याललाई थप अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ। अर्यालमाथि मलेसिया जाने सात लाखभन्दा बढी श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति थप १०० रिंगिट उठाएर कुल १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ। यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित मन्त्रालयका तत्कालीन सचिव, उच्च अधिकारी र निजी कम्पनीका सञ्चालक पक्राउ परिसकेका छन्। प्रहरीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।