skip this वडा नं १६ बालाजु च:मती

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको जानकारी दिए । ‘स्थानीयस्तरमा भएका चासोका विषय, लागुऔषध नियन्त्रण गर्नेलगायत विषयमा दुवै पक्ष प्रतिबद्ध छौँ’, उनले भने, ‘लगत्तै हुने पूर्णगिरि मेलालाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको छ ।’ उनले बैठकमा सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएको बताए ।

भारतको चम्पावत जिल्लाका प्रमुख नवनित पाण्डेयले भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि छलफल भएको बताए । उनले भने, ‘२०२५ सम्म उत्तराखण्डलाई नशामुक्त गर्ने अभियान छ त्यसमा नेपालको तर्फबाट पनि प्रतिबद्धता छ ।’ उनले लागुऔषध नियन्त्रण गर्नका लागि दुवै देश प्रतिबद्ध रहेका बताए ।

बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बलका उपरीक्षक खगेन्द्रबहादुर चन्द सहभागी थिए ।