कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन् ।
मार्च १२ अर्थात् मंगलबार राति बाटो काट्न लागेको बेला उनीहरुलाई कारले ठक्कर दिएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जनाइएको छ । महबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा तीन नेपालीलाई कारले ठक्कर दिएको थियो । कार कुवेत नागरिकले चलाएका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । राजदूत लम्सालले मृतकका परिवार सम्पर्कमा आए सबै शव एक साताभित्र नेपाल पठाउने तयारी गरिरहेको जानकारी दिए ।





















