skip this वडा नं १६ बालाजु च:मती

सुन जाँचबुझ आयोगको प्रतिवेदन, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । बिहीबार आयोगका अध्यक्ष डिल्लीराम आचार्यले सिंहदरबारमा गृहमन्त्री लामिछानेलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

गठन भएको साढे पाँच महिनामा सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने बताए । उनले दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि जानकारी दिए । आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्दै मन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

प्रतिवेदन कार्यान्वयनको चुनौती आफैँले सामना गर्ने भन्दै उनले भने, ‘जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने छ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहतमा ल्याइने छ ।’

गृहमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । आयोगले नौ भन्सार नाकाको स्थलगत अनुगमन गरेको छ भने ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार परिएको अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार प्रतिवेदनको १३औँ परिच्छेद निष्कर्ष र सुझाव रहेको छ । यसैगरी, मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरिएको छ ।

विदेशबाट इलेक्ट्रिक सिगरेटमा र गत साउन २ गते ब्रेक सु प्याडमा सुन राखी तस्करी गरिनुका साथै पटक–पटक सुन तस्करी भएको थियो । यस विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र तथा निष्पक्ष छानबिनका लागि गत असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जाँचबुझ आयोग ऐन बमोजिम सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन भएको थियो ।