भोजपुरमा आगलागीबाट ६ घर नष्ट, ३ बालबालिकाको मृत्यु

जंगलको डढेलो बस्तीमा पस्दा भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा ६ वटा घरगोठ जलेको छ । आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ ।

बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आगो निभाउन परिचालन गरिएको थियो ।

त्यसैगरी, भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए ।