आजदेखि होली सुरू, बसन्तपुरमा ठड्याइयो चीर

यसपालिको होली(फागु पुर्णिमा) पर्व आजदेखि सुरू भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको होलीको चीर(तीन खण्डे) ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा आजदेखि होली पर्व सुरू भएको छ । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समाप्त हुन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ । यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरूमा चैत ११ गते र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व परेको छ ।