नेसपा विवाद: यादव समूहले माओवादीसँग गरेको एकता घोषणा भट्टराई समुहद्वारा खारेज

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ । अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।

‘केही साथीले माओवादीसँग एकता गरेको भनेर निकालेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । त्यसैले स्वत: खारेजभागी छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले भने, ‘पार्टी विधि पद्धति, संगठनको अनुशासन तोडेर रातारात सत्ता समीकरणको खेलमा अमूक स्वार्थ पूरा गर्ने ध्येयले सिंगो पार्टी सदस्यलाई भ्रमित पारियो ।’

शनिवार अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गर्दै अध्यक्ष महिन्द्रसहित सहअध्यक्ष गंगा श्रेष्ठ र महासचिव रमेश यादवले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि कारबाही गर्न लागिएको छलफलमा बताइएको छ । साथै, सोमबार नेसपाले केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने जनाइएको छ ।