नेकपा(एस) छोड्नासाथ दीपक मनाङे बने मन्त्री, आजै सपथ लिदैँ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् । आइतबार नेकपा(एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र बनेका सांसद मनाङेको आजै साढे तीन बजेका लागि शपथको समय तोकिएको बताइएको छ ।

गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुन:गठन गरेका छन् । पुन:गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री थिए ।

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । आइतबार मात्रै उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा संसद् सचिवालयमा निवेदन दिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत प्राप्त गरेर सरकार बनाउन ३१ जना सांसदहरू आवश्यक हुन्छन् । अहिले गण्डकीमा काँग्रेसका २७ जना, एमालेका २२, माओवादी केन्द्रका ७ जना सभामुखबाहेक, राप्रपाका २ जना र एकजना दीपक मनाङे छन् । आज दिउँसो साढे ३ बजे सपथको तयारी भैरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।