काठमाडौंबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालन

काठमाडौंबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालनमा आएको छ । जिप प्रत्येक दिन बिहान ७:३० बजे काठमाडौंबाट ठूलोस्याफ्रुका लागि छुट्ने र सोही समयमा ठूलो स्याफ्रुबाट काठमाडौंका लागि छुट्ने समय निर्धारण गरिएको मिनि गोसाइँकुण्ड यातायात समितिले जनाएको छ ।

यसबाट विशेष गरी गोसाइँकुण्ड जाने तीर्थ यात्रु एवं लाङ्टाङ जाने पर्यटकलाई थप सहज हुने समितिका सदस्य साधुराम खड्काले जानकारी दिए । भौगोलिक विकटताका कारण सदरमुकाम धुञ्चेबाट ठूलो भार्खु, ब्रबलहुँदै ठूलोस्याफ्रु पुग्न दिनभर लाग्ने गर्दथ्यो ।

स्थानीयवासी तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत सहज भएको बताए ।