विनोद चौधरी सिआइबीमा

नेपाली कांग्रेसका सांसद विनोद चौधरी बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) उपस्थित भएका छन् । सिआइबी स्रोतका अनुसार सांसद चौधरी बयानका लागि आज बिहीबार बिहान उपस्थित भएका हुन् ।

पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद चौधरीको कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएको छ ।काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको हो । छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले जनाएका छन् ।

ब्युरोले बुधवार उनका भाइ वसन्त चौधरीलाई पनि घटना विवरण कागज गराएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरीलाई ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । उनी सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।

जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण ‘हाजिर जमानी’मा रिहा भएका छन् । विनोदसँग बयान लिनुअघि सीआईबीले विनोदबारे पनि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई गराएको थियो । सभामुख देवराज घिमिरेलाई ब्युरोले पत्र लेखेर त्यसबारे जानकारी दिएसँगै उनलाई बयानमा बोलाइएको हो ।