आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते भएकी थिइन् । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो । छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ ।

नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष(आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा.केएन पौडेलले जानकारी दिए । चौलागाईँको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हीरामणि चौलागाईँले बताए । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।