सूर्यदर्शन सहकारीका पीडितहरुले वचत फिर्ताको माग गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापनपत्र बुझाएका छन् । सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार सात सय जना वचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै श्रेष्ठले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरे । सो अवसरमा सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा समेत सुनुवाई नभएको जनाएका छन् । सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई कसले लुकाएको छ भनि प्रश्न गर्दै पीडितको समस्या कहिले समाधान हुन्छ भन्दै उनले प्रश्न गरेका छन् । गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको वचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको उनको भनाई छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘यसमा जो जसको संलग्नता भए पनि कानुनी दायरामा ल्याई वचत फिर्ताको वातावरण बनाइदिनुपर्यो । छानबिन र कारबाही सहकारी सञ्चालकमात्र होइन, सम्बन्धित नियामक निकायलाई पनि हुनुपर्छ । वचतकर्ता पीडित हुनुमा नियामक निकायको पनि दोष देखिन्छ ।’
उता ज्ञापनपत्र बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले सरकारले सहकारी पीडितलाई न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।


















