एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले समाजवादी मोर्चामा आबद्ध हुन आग्रह गरेका छन् । बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमाले अध्यक्षलाई यस्तो आग्रह गरेका हुन् ।
समाजवादी मोर्चाका अध्यक्षसमेत रहेको विप्लव भेटबारे भने, ‘सबै कम्युनिष्ट घटकहरूलाई एकताबद्ध गर्ने मोर्चाको घोषित नीति नै हो । हामीले केपीजीलाई पनि सरकारमा आउन आग्रह गरेका छौं, उहाँले छलफल गरौंला भन्नुभएको छ ।’ ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले आज शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।
उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग आग्रह गरेको बताए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।
नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माका अनुसार ओलीसँगको भेटमा अहिलेको सत्ता गठबन्धन तुलनात्मक रूपले राम्रो भएको र यसमा अरू दलहरूलाई पनि सहभागी गराएर बृहत गठबन्धन बनाउनुपर्ने विषयमा छलफल भएको छ ।



















