सिरहाको लहान नगरपालिकाले मोतिविन्दु पहिचान भएकालाई नि:शुल्क शल्यक्रिया गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा लहान–२४ मा सोमबार नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको थियो ।
उक्त आँखा शिविरमा दुई सय ९७ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ९८ जनाको आँखामा मोतिविन्दु भेटिएको छ । मोतिविन्दुको बिरामीलाई नि:शुल्क शल्यक्रिया गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । नगर प्रमुख चौधरीसहित उपप्रमुख रामचलितर महतो, वडाअध्यक्ष रासलाल रायलगायतले आँखा शिविर कार्यक्रम निरीक्षण गरेका थिए ।
नगरपालिकाले गत आर्थिक वर्षमा पनि एक हजार ९१ जनालाई नि:शुल्क रुपमा मोतिविन्दुको शल्यक्रिया गराएको थियो । गतवर्ष सात हजार भन्दा बढीले आँखा जाँच, उपचार र औषधि पाएका थिए ।


















