नेपाल प्रहरीले नाबालिकालाई यौनकार्यमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई यौनकार्यमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए । उनले भने, ‘खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ ।’ प्रहरीले पक्राउ गरेको मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयालले बताए ।


















