धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरेका छन् । उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गर्दै आज मंगलबार काठमाडौंमा पम्पलेट बोकेर प्रदर्शन गरेका हुन् ।
उनले बोकेको पम्पलेटमा लेखिएको छ, ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ उनले सो पम्पलेट बोकेर काठमाडौंको कुन ठाउँमा प्रदर्शन गरेका हुन् भन्ने खुलेको छैन ।
केही दिनअघिदेखि काठमाडौंमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन लगायतसँग भेटे गरिसकेका छन् । भेटमा उनले प्रधानमन्त्रीसँग खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए ।


















