नेकपा (माओवादी केन्द्र)ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी नदिने भएको छ । कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलका अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने भएको हो ।
माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले दुई अध्यक्षबीच भएको सहमति भएको बताउँदै अब गठबन्धनका उम्मेदवार जिताउन लागिपर्ने बताए ।
इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् । नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।


















