नयाँ वर्ष पार्टी पुन:जागरणको वर्ष हुनेछ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुन:जागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गरेका छन् । नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं.२ द्वारा शनिबार महालक्ष्मी नगरपालिका वडा नं.६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने धारणा राखे ।

उनले भने, ‘हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ । इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ । खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गछौं ।’ उनले सुशासनप्रति प्रतिबद्ध रहँदै नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताए । ‘यो वर्ष सत्तामा आँखा लगाउँदैनौँ, जनताको समस्या समाधानका लागि पार्टीलाई बलियो बनाउन लागिपर्छौ, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागि पर्छौ’, उनले भने । पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भन्दै उनले २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।

उनले पार्टीमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने र नेता तथा कार्यकर्तामा विचार र व्यवहारको शुद्धीकरण हुनुपर्नेमा जोड दिए । बाध्यतावश विदेशमा काम गर्न गएकाहरूलाई गौरव गर्न सक्ने र भरोसा दिनेगरी काम गर्न सक्नुपर्छ भन्दै उनले राजनीतिक नेतृत्वले समस्याको समाधान दिनुपर्ने बताए । नागरिकले राजनीतिकर्मीबाट पारदर्शिता र शुद्धता खोजेको छ भन्दै उनले सांसद, मेयर, वडाध्क्ष निष्कलङ्क हुनुपर्नेमा ध्यानाकर्षण गराए । पार्टीभित्र क्रियाशील सदस्य बन्न खुला वातावरण बनाउनुपर्ने बताउँदै जिम्मेवारी र पदमा आउनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेतृत्व चयन प्रक्रियालाई परिवर्तन गर्दै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्द पोखरेलले विपीको आदर्श अनुसरण गर्नुपर्नेमा जोड दिए । ‘हामीहरु विदेशी सीप, ज्ञान ल्याएर नेपाललाई समृद्ध बनाउन सक्छौँ । राजनीति भनेको जहिले पनि विचार र दर्शनमा आधारित हुन्छ, दर्शन र विचार नै बलियो नभएका पार्टीहरूसँग अल्मलिएर कांग्रेसले समय खेर फाल्नु हुँदैन’, प्रा.डा.पोखरेलले भने । गालीगलौजको भरमा भोट हाल्ने संस्कृति बदल्नुपर्छ भन्दै उनले जनप्रतिनिधि समाजसेवा गर्न गएको प्रतिनिधि भएको बताए । कांग्रेसले ल्याएको नीतिले २०४८ देखि २०५१ सम्म विकासका गतिविधि तीव्र रूपमा बढेको स्मरण गरे । ‘क्षमता हासिल गर्न विदेश जाँदा दुःख मान्नुपर्दैन, तर बाध्यताले विदेशिएकाप्रति भने हामी संवेदनशील हुनुपर्छ’, उनले भने ।

कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले जनतामा उत्साह जगाउने काममा केन्द्रीय तहदेखि स्थानीयस्तरसम्म पार्टी नेतृत्व र कार्यसमितिले ध्यान दिनुपर्ने बताए । उनले २०८२ सालमा महाधिवेशन हुने वातावरण तयार गर्नु आवश्यक रहेको बताउँदै समयमा महाधिवेशन भएन भने २०८४ सालको निर्वाचनमा सफल हुन कठिन हुने धारणा राखे ।

कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले वर्ष २०८१ लाई ललितपुरमा प्रशिक्षण वर्षका रूपमा सङ्गठन परिचालन गर्ने बताउँदै पार्टीले आवश्यकतानुसारको प्रशिक्षण दिने बताए । उनले अधिवेशनको समयमा भएको मतभेद, मनभेद र कमजोरीलाई लामो समयसम्म लिएर राख्नुहुँदैन भन्दै विगतको तिक्ततालाई प्रतिशोधको भावनाले भन्दा पनि सहकार्य गर्दै एकताको भावना लिएर अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, ललितपुर क्षेत्र नं.१ का सभापति सुन्दरमान थिङ, क्षेत्र नं.२ का सभापति महेश खड्कालगायतले मन्तव्य राखेका थिए ।