इलाम उपनिर्वाचन: एमालेका नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । उनी २७ हजार सात सय ७२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू(थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् ।

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।