नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा एमालेको जित राष्ट्र निर्माणमा एउटा सिडी थपिएको बताएका छन् । उपनिर्वाचन अन्तर्गत इलाम २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको विजयी सभालाई मंगलबार सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले नेकपा एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्त्व दिने बताएका छन् । उनले एमालेले जे बोल्ने त्यो गर्ने भन्दै इमान र नैतिकताको बन्धनलाई एमालेले तोड्न नसक्ने बताएका छन् । उपनिर्वाचन र एमाले उम्मेदवार सुहाङ नेम्वाङबारे उठेका प्रश्नको जवाफ उपनिर्वाचनको परिणामले दिएको ओलीले बताए ।
सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष, एउटा सांसद र जनताका लागि लड्ने योद्धा भएको बताउँदै ओलीले भने, ‘अनेक प्रश्नहरू उठेका थिए ती प्रश्नको जवाफ एमालेका नेता कार्यकर्ताले व्यवहारबाट दिनुभएको छ । एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा हुन्छ । कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र राजाको छोरो राजा सुहाङ हुनु ? योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ त ?’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देशको आर्थिक अवस्था उकास्ने, सुशासन, विकाससम्बन्धी नीति नेकपा एमालेसँग मात्र भएको दाबी समेत गरे ।


















