गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने, ३० सांसदको समर्थनमा बहुमत पुग्ने गठबन्धनको दाबी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही बैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा बैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले बैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए । एमाले, माओवादी केन्द्र र राजीव गुरुङ(दीपक मनाङे)को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चले बैशाख १७ गते खारेज गरिदिएको थियो ।

अधिकारीलाई दुई सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समर्थन नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ । तर, सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन् । कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन हुनैपर्ने बताएका छन् । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् ।