कोशीका मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले आज बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् ।

यसअघि बिहीबार नै प्रदेश प्रमुख खापुङले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् । कार्कीले सानो आधारको मन्त्रिपरिषद पनि गठन गरे । नेकपा (एमाले)का उपनेतासमेत रहेका रामबहादुर राना र नेकपा(माओवादी केन्द्र)का गणेश उप्रेती ‘सुशील’ मन्त्री भएका छन् । उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् तर उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।

बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए भने बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो ।

साथै, निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही अघि बढाउन नदिन मागसहित सर्वोच्च अदालत पुगेका छन् । उनले अन्तरिम आदेशको माग गर्दै रिट दिएका छन् । उनले प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठनको आह्वान गरेको भन्दै आफैँलाई नै यथावत रूपमा काम गर्न परमादेश दिन माग गरेका छन् ।