व्यक्तिगत स्वार्थले पार्टी विभाजन भएको अध्यक्ष यादव जिकिर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकीर गरेका छन् । मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उनले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाए ।

विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उनले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असर नपर्ने दाबीसमेत गरे । आफूबाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उनले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उनको भनाइ थियो ।

आयोजक संस्थाका अध्यक्ष सचितानन्द जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणराज्यमन्त्री दीपककुमार कार्की, मधेस प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री सुरिता साह र मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवलगायतले आफ्नो धारणा राखेका थिए ।