skip this वडा नं १६ बालाजु च:मती

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिदैँ

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले चौथो पटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संसद् सचिवालयमा पत्र पठाएका छन् । उनले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा(२) अनुसार विश्वासको मत लिन लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधानअनुसार उनले संसद् सचिवालयमा पत्राचार गरेका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए । २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिएका थिए ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो । नयाँ समीकरण बनेको ९ दिनमा फागुन ३० गते उनले तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला १५७ सांसदले पक्षमा मतदान गरेका थिए ।

हाल जनता समाजवादी पार्टी नेपालले २०८१ बैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा(२) बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले अहिले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने भएसँगै प्रधानमन्त्री प्रचण्ड लोसपालगायतका साना दललाई पनि सरकारमा समेटेर अघि बढ्ने तयारीमा छन् ।