मञ्जुश्री सहकारी बचतकर्ताले घेरे 

भैरहवामा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब २०० वचतकर्ता पुगेका थिए ।  सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् ।

सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताको सम्पर्कमा थिएनन् ।यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् ।

सहकारीका अध्यक्ष खिमराज भण्डारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २ करोड र कर्जा असुल गर्नुपर्ने ३ करोड रुपैयाँ रहेको बताए । कर्जा असली प्रक्रियामा रहेकाले केही समय बुटवल शाखा बन्द गर्नुपरेको बताए । कोरोना महमारीपछि आर्थिक क्षेत्रमा परेको असरका कारण लगानी गरिएको कर्जा समयमा असुली नहुँदा तरलता अभाव बढ्दै गएको र कतिपय सदस्यले बचत गरेको रकम अवधि नपुग्दै माग गरेकाले फिर्ता दिंदा तरलता अभाव झनै बढेको उनको भनाइ छ ।

वचतकर्ताले शाखा कार्यालय र अध्यक्ष भण्डारीलाई घेराउ गरेपछि दुबै पक्षलाई राखेर छलफल गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए । सहकारीका बारेमा विस्तृत विवरण संकलन र अनुसन्धानपछि मात्रै बताउन सकिने पण्डितले बताए ।