काठमाडौं। नेपाली चलचित्र निर्देशक राज सरगम अन्तर्राष्ट्रिय चलचित्र पिचिङ कार्यक्रममा आफ्नो चलचित्र परियोजना प्रस्तुत गर्ने भएका छन्। आगामी नोभेम्बर १२ मा रुसको नेसनल सेन्टर ‘रसिया’मा आयोजना हुने ‘Cinema as a Tool for Fighting Futureshock’ नामक कार्यक्रममा उनले आफ्नो चलचित्र परियोजना ‘Gaadee: The Sacred Place’ प्रस्तुत गर्नेछन्।
नोभेम्बर १२ देखि १३ सम्म आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय सिम्पोजियम ‘Creating the Future’ को प्रमुख हिस्साका रूपमा यो पिचिङ कार्यक्रम सञ्चालन हुनेछ। विश्वभरका युवा चलचित्रकर्मीले भविष्यप्रतिको चिन्ता र चुनौतीलाई सकारात्मक परिदृश्यमा रूपान्तरण गर्ने उद्देश्यसहित आफ्ना चलचित्र परियोजना प्रस्तुत गर्नेछन्। कार्यक्रममा विदेशी चलचित्रकर्मीबाट प्राप्त १७ वटा आवेदनमध्ये उत्कृष्ट परियोजनाहरू छनोट गरिएको हो।
राज सरगम (वास्तविक नाम राजकुमार लामिछाने) को ‘Gaadee: The Sacred Place’ ले नेपाली समाजको सांस्कृतिक परम्परा, लैङ्गिक समानता र महिला अधिकारको विषयलाई उठाएको छ।
चलचित्रकी मुख्य पात्र भवानी नेपालकै एक गाउँकी १६ वर्षीया किशोरी हुन्। व्याख्या गर्न नसकिने शारीरिक कम्पनको समस्याबाट पीडित भएपछि उनी आस्था, लैङ्गिक भूमिका र सांस्कृतिक पहिचानसँग जोडिएका स्थापित मान्यतामाथि प्रश्न उठाउन बाध्य हुन्छिन्। आध्यात्मिक तथा सामाजिक अधिकार पुरुषमा मात्र सीमित रहेको समुदायमा भवानीले आफ्नो भाग्य आफैँ निर्धारण गर्ने संघर्ष गर्छिन्।
चलचित्रले सांस्कृतिक पहिचान जोगाउँदै परम्परालाई थप समावेशी बनाउन सकिने सन्देश दिन खोजेको छ। नेपाली परम्परामा धामी–झाँक्रीलाई काँधमा बोकेर लैजाने चलनसँग जोडिएको दृश्यलाई चलचित्रमा प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले समानता स्थापित गर्न सांस्कृतिक परम्पराको अन्त्य गर्नैपर्छ भन्ने मान्यता आवश्यक नरहेको सन्देश दिन्छ।
निर्देशक सरगमका अनुसार लैङ्गिक समानता, सामाजिक मान्यतामाथि प्रश्न उठाउने स्वतन्त्रता र सांस्कृतिक विरासतको संरक्षणसम्बन्धी चिन्ताले चलचित्र निर्माणको प्रेरणा दिएको हो। उनले सांस्कृतिक निरन्तरता र लैङ्गिक समानता सँगसँगै अघि बढ्न सक्ने सम्भावनालाई चलचित्रमार्फत खोजेको बताएका छन्।
‘के सांस्कृतिक परम्पराहरू थप समावेशी बन्दै पनि आफ्नो मौलिकता कायम राख्न सक्छन्? के कुनै समाजले महिलालाई समान मर्यादा र मान्यता दिँदै आफ्नो आध्यात्मिक सम्पदा जोगाउन सक्छ?’ भन्ने प्रश्न चलचित्रको मूल विषयवस्तु रहेको निर्देशक सरगमको भनाइ छ।
अन्तर्राष्ट्रिय सिम्पोजियम ‘Creating the Future’ भविष्यका सकारात्मक परिदृश्य निर्माण र त्यसलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना हुँदै आएको मञ्च हो। रुसी महासङ्घको परराष्ट्र मन्त्रालय तथा विज्ञान र उच्च शिक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने यो कार्यक्रम रूसको ‘विज्ञान तथा प्रविधि दशक’ अन्तर्गत आयोजना हुँदै आएको छ।
सन् २०२४ नोभेम्बर ४ देखि ६ सम्म पहिलो पटक आयोजना भएको सिम्पोजियममा १०१ देशका ६ हजारभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न देशका सरकारी प्रतिनिधि, वैज्ञानिक, इन्जिनियर, भविष्यविद्, सामाजिक व्यक्तित्व तथा सिर्जनात्मक क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।
यस वर्षको चलचित्र पिचिङ कार्यक्रममा नेपाली निर्देशक राज सरगमको सहभागिताले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि वेबसाइटमार्फत अग्रिम दर्ता गरी सर्वसाधारणले समेत सहभागिता जनाउन सक्नेछन्।


















