उपप्रधानमन्त्री रघुवीरको सम्पत्ति विवरण सार्वजनिक

मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार सम्पत्ति विवरणमा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छ। जनपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ। साथै ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा २०६५ सालमा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा २०५८ सालमा ४ कट्ठा, ललितपुर महानगपालिकामा २०५६ सालमा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा २०५४ सालमा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ।

रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ।

उपप्रधानमन्त्री रघुवीरसँग ४३ तोला सुन रहेको छ। त्यस्तै साढे एक किलो सुन रहेको छ। सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।

पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ। यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ। महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।