सहकारीको बचत अपचलनमा संलग्नलाई ओलीको संरक्षण रहेको भनाई प्रति एमालेको आपत्ति

कांग्रेसले क्षमा नमागे राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न एमाले पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारदेखि सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध थालेको सडक आन्दोलनमा उनले यस्तो आरोप लगाएका थिए ।

सोही विषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे पार्टी आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका छन् । आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निष्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष ओलीका विरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए । उपाध्यक्ष पौडेलले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको समेत आरोप लगाएका छन् । उनले नेपाली काँग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताए । सान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको बताए ।