प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान लामा(थर्कमान) पक्राउ परेका हुन् ।
तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनी सामाखुसीमा बस्दै आएका थिए । ब्यूरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको ब्यूरोका एक अधिकृतले बताए ।
भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासँग बयान लिएर ब्यूरोले उनलाई हाजिर जमानीमा छाडेको थियो । सुनको अवैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख महरासहित सात जनामाथि अनुसन्धान भइरहेको छ । तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् ।


















