संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा थपिए पाँच सदस्य

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा दुई वर्षे कार्यकालको लागि पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको हो ।

उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ भने पाँचै देशको कार्यकाल दुई वर्षको हुनेछ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुँदैछ। उनीहरुको स्थान नवनिर्वाचित डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियाले लिने छन् । सुरक्षा परिषद्‌मा पहिलेदेखि नै अल्जिरिया, गयाना, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया अस्थायी सदस्य छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा १० अस्थायी र ५ स्थायी सदस्य हुन्छन् ।

अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य हुन् । स्थायी देशहरुलाई भिटो प्रयोग गर्ने अधिकारसमेत हुन्छ । १० अस्थायी सदस्य राष्ट्र दुई वर्षका लागि मात्र चुनिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा निर्वाचनमार्फत् अस्थायी सदस्य राष्ट्र चुनिन्छ । महासभाका १९३ सदस्य राष्ट्रहरुले अस्थायी सदस्य राष्ट्र चुन्दा क्षेत्रीय प्रतिनिधित्वलाई समेत ख्याल गरिन्छ ।