skip this चन्द्रागिरी नगरपालिका

जसपाको महाधिवेशनमा २० हजार मान्छे उपस्थित रहने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाले यही जेठ २८ गते जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा २० हजार मान्छेको उपस्थित रहने आयोजकले जनाएको छ ।
जसपाको प्रवक्ता मनीष सुमनका अनुसार केन्द्रका नेताहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव महाधिवेशनमा आउने भएको छ ।

एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमतका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइसकेको बताइएको छ । तर उनीहरूले कार्यक्रममा आउने या नआउने निर्णय नगरेको बताइन्छ ।

उनीहरूको भोलि मात्र निर्णय हुने बताइएको छ । यस्तै, फागुन २३ मा जसपा विभाजन गरेका अशोक राईको समूहलाई भने महाधिवेशनमा नबोलाउने सुमनको भनाइ छ । उनले भने, ‘उनीहरूलाई बोलाएर के पाइन्छ । पार्टी हो र उनाीहरुको ?’ सुमनका अनुसार भारतका समाजवादी नेताहरूलाई समेत निमन्त्रणा दिएको छ ।

जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको छ ।

कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतले सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने जानकारी दिए । उनका अनुसार जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकै पटक हुने सुमनको भनाइ छ ।