नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाल र अध्यक्ष माधवकुमार नेपाल भिड्ने भएका छन् । एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र भूसाल दुबैले अध्यक्षको दाबी गरेता पनि अन्तत: दुईबीच सहमत भएको छ भने अब अध्यक्ष माधवकुमार नेपाल प्रतिस्पर्धिमा रहेका छन् ।
सहमतिपश्चात नेकपा एसको नयाँ नेतृत्वमा महासचिव भूसाललाई अगाडि बढाउन खनाल सहमत भएका छन् । एक पदाधिकारीका अनुसार पार्टीभित्रबाट दुबैलाई मिल्न दबाब र लामै छलफल पछि एउटा टुंगोमा पुगेको हो । उनले अब माधव नेपालसँग पनि कुराकानी हुने र सकेसम्म घनश्याम भूसाललाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेको अर्थात यस महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्वको सन्देश दिने प्रयासमा पार्टी रहेको बताए ।
यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दाबी गर्दै आएका थिए । तर आज बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका छन् । सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुने छन् ।
उता अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् । जसले गर्दा महाधिवेशनमा नेपाल र भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रने निश्चित भयो भन्दा फरक नपर्ला ।


















